
एजेन्सी । अमेरिकाले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध तीन दशकअघि भएको विमान दुर्घटनासम्बन्धी घटनामा मुद्दा चलाउने तयारी गरेको समाचार सार्वजनिक भएको छ ।
अमेरिकी न्याय विभागले सन् १९९६ मा मानवीय सहायता समूह ‘ब्रदर्स टु द रेस्क्यु’का दुई साना विमान खसालिएको घटनामा क्यास्ट्रोको संलग्नता रहेको आरोपसहित कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको बीबीसीले जनाएको छ । उक्त घटनामा चार जनाको मृत्यु भएको थियो ।
अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक जोन र्याटक्लिफ हाल हवाना पुगेर उच्च अधिकारीहरूसँग छलफल गरिरहेकाले यो विषय फेरि सतहमा आएको हुन् । यसलाई क्युबा–अमेरिका सम्बन्धमा नयाँ तनावको संकेतका रूपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबामाथि कडाइ गर्दै तेल आपूर्ति र आर्थिक नाकाबन्दीलाई अझ विस्तार गर्ने संकेत दिएको छ । वाशिङ्टनले क्युबामा राजनीतिक परिवर्तनको दबाब बढाइरहेको विश्लेषण पनि गरिएको छ ।
यता क्युबाली अधिकारीहरूले भने अमेरिकी नाकाबन्दी र दबाबका बाबजुद आफ्नो सार्वभौमसत्ता र समाजवादी प्रणाली नछोड्ने अडान दोहोर्याएका छन् । देश अहिले इन्धन संकट र आर्थिक मन्दीबाट गम्भीर रूपमा प्रभावित छ ।
विश्लेषकहरूका अनुसार नयाँ कानुनी कदमले क्युबामा राजनीतिक अस्थिरता बढाउन सक्ने देखिन्छ । त्यसको असर क्षेत्रीय आप्रवासन संकटमा पनि पर्न सक्ने बताइएको छ ।

























