
दमक । झापाको कमल गाउँपालिका–१ इँट्टाभट्टा क्षेत्रमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार सोलमारीबाट केर्खातर्फ जाँदै गरेको को १० प १४८० नम्बरको मोटरसाइकलले शनिबार साँझ ६ः३० बजेतिर ७० वर्षीय शंकरप्रसाद ढुंगानालाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि गम्भीर घाइते ढुंगानालाई स्थानीयले उद्धार गरेर दमकस्थित निम्स अस्पताल पुर्याएका थिए । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल रेफर गरिएको थियो । तर, उपचारका क्रममा राति ११ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक ३५ वर्षीय लुडो सतारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले भित्री सडकमा तीव्र गति र लापरबाहीका कारण दुर्घटना बढ्दै गएको बताएका छन् । प्रहरीले सडक सुरक्षामा सुधार र ट्राफिक नियम पालनामा कडाइ आवश्यक रहेको बताएको छ ।



















