
काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज (आइतबार) विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।
इन्टरनेट तथा सूचना, सञ्चार प्रविधि (आईसीटी)को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने तथा डिजिटल विभाजन घटाउने उद्देश्यका साथ प्रत्येक वर्ष मे १७ मा यो दिवस मनाइन्छ । ‘डिजिटल विभाजन’ भन्नाले इन्टरनेट, कम्प्युटर, स्मार्टफोनजस्ता प्रविधिमा पहुँच भएका र नभएका व्यक्ति तथा समुदायबीचको असमानतालाई जनाउँछ ।
सहरी क्षेत्रमा सहज रूपमा इन्टरनेट सेवा उपलब्ध हुँदा दुर्गम ग्रामीण क्षेत्रका नागरिकले त्यस्तो सुविधा नपाउने अवस्था नै यस विभाजनको प्रमुख उदाहरण हो । विश्व दूरसञ्चार दिवसको इतिहास सन् १९६९ देखि सुरु भएको मानिन्छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को स्थापना र सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको स्मरणमा यो दिवस मनाउने परम्परा बसेको हो । पछि सन् १९७३ मा स्पेनको मालागा–टोरेमोलिनोसमा सम्पन्न आईटीयूको सम्मेलनले यसलाई औपचारिक मान्यता दिएको थियो ।
त्यसैगरी, सन् २००५ मा भएको विश्व सूचना समाज शिखर सम्मेलनले मे १७ लाई ‘विश्व सूचना समाज दिवस’का रूपमा मनाउन संयुक्त राष्ट्रसंघलाई सुझाव दिएको थियो । सोही आधारमा २००६ देखि यो दिवस विश्वव्यापी रूपमा मनाइँदै आएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार यस दिवसको मुख्य उद्देश्य डिजिटल प्रविधिको उपयोगबाट समाज एवं अर्थतन्त्रमा सिर्जना हुने अवसरका बारेमा जनचेतना फैलाउनु र सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने वातावरण निर्माण गर्नु हो ।



















