
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने २ हजारभन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
ट्राफिक नियम उल्लंघनको कसुरमा २ हजार २९ जना चालक कारबाहीमा परेका हुन् । कारबाही गरेर चालकलाई जरिबाना गर्दा राज्य कोषमा ४ लाख १७ हजार राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ५९ जना, राइड सेयरिङ नियम उल्लंघन गर्ने ११९ जना, ट्राफिक संकेत बत्ती नमान्ने १३२ जना र तीव्र गतिमा सवारी चलाउने २०८ जना कारबाहीमा परेका छन् ।
त्यस्तै, लेन अनुशासन उल्लंघन गर्ने ५७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना र फुटपाथमा पार्किङ गर्ने ९५ जना पनि कारबाहीमा परेका छन् । अन्य नियम उल्लंघन गर्ने १ हजार १३९ जनालाई समेत जरिबाना गरिएको प्रहरीले ट्राफिक जनाएको छ ।

























