
एजेन्सी । कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरस संक्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएको छ । संक्रमणसँग सम्बन्धित २४६ शंकास्पद बिरामी भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
कंगोका स्वास्थ्य अधिकारीका अनुसार यसपटक ‘बुन्डिबुग्यो’ प्रकारको इबोला फैलिएको हो । हालसम्म आठ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो प्रकारका लागि प्रभावकारी खोप र उपचार सीमित रहेकाले स्वास्थ्य निकाय थप चिन्तित बनेका छन् ।
संक्रमण इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिएको छ । स्थानीयका अनुसार पछिल्ला दिनहरूमा लगातार मृत्यु भइरहेका छन् भने कतिपय स्थानमा एकै दिन धेरै जनाको अन्त्येष्टि गर्नुपर्ने अवस्था बनेको छ ।
छिमेकी युगान्डामा पनि इबोलाको एक संक्रमित बिरामी फेला परेका छन् । राजधानी कम्पालास्थित अस्पतालमा उपचारका क्रममा ती बिरामीको मृत्यु भएको थियो । त्यस्तै केन्याले सबै सीमा नाकामा निगरानी कडा बनाएको छ ।
इबोला संक्रमित व्यक्तिको रगत, वान्ता तथा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट सर्ने घातक रोग हो । यसको मृत्यु दर २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म पुग्ने गरेको छ ।
सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

























