
काठमाडौं । लामो समयदेखि सुस्ताएको घरजग्गा बजारमा सुधार देखिन थालेको छ । चालु वर्षको वैशाखमा देशभर जग्गा किनबेच बढेको छ भने नयाँ ऋण लिनुभन्दा पुरानो ऋण तिरेर जग्गा फुकुवा गर्नेको संख्या बढी देखिएको छ ।
सरकारी तथ्यांकअनुसार गत वर्षको वैशाखको तुलनामा यस वर्ष घरजग्गा कारोबार करिब १७ प्रतिशतले बढेको छ । लिखत पारित अर्थात् वास्तविक किनबेच पनि १२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुनु, ब्याजदर घट्नु र सरकारले कित्ताकाटसम्बन्धी नीति केही खुकुलो बनाउनुका कारण बजार चलायमान बनेको मानिएको छ । काठमाडौं उपत्यकाभन्दा बाहिर दाङ, धनगढी, भद्रपुर र बुटवलमा कारोबार उल्लेख्य रूपमा बढेको छ । उपत्यकाभित्र भक्तपुर र ललितपुरमा पनि किनबेच बढेको देखिएको छ ।
यद्यपि, कारोबार बढे पनि नयाँ कर्जा प्रवाहमा भने खास सुधार देखिएको छैन । वैशाखमा रोक्का संख्या लगभग स्थिर रहे पनि ऋण तिरेर जग्गा फुकुवा गर्ने संख्या २० प्रतिशतभन्दा बढीले बढेको छ । यसले सर्वसाधारण नयाँ लगानीमा सतर्क रहे पनि पुरानो दायित्व घटाउनेतर्फ लागेको संकेत गरेको छ ।
यसैबीच, मालपोत कार्यालयहरूमा स्रेस्ता संशोधन, प्रतिलिपि र अन्य प्रशासनिक काममा पनि चाप बढेको छ । विशेषगरी नेपालगन्ज र कलंकी मालपोत कार्यालयमा संशोधनसम्बन्धी काम उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाएको छ ।



















