धनकुटामा यात्रुवाहक विंगर दुर्घटना, मोरङ सुन्दरहरैँचाकी महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १२:४२

धनकुटा । धनकुटामा सोमबार बिहान यात्रुवाहक विंगर गाडी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

निर्माणाधीन तमोर करिडोरअन्तर्गत चौबिसे गाउँपालिका–४ बिजीटारमा बिहान ९ः३० बजेतिर प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको विंगर गाडी दुर्घटनामा परेको धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले बताए । उनका अनुसार सुनसरीका इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेर उक्त गाडीमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका–६ की ४० वर्षीया सावित्रा ढुंगेलको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनाग्रस्त गाडीले च्यापेको अवस्थामा ढुंगेललाई मृत फेला पारेर शव बाहिर निकालिएको हो । ‘गाडीले च्यापिएको अवस्थामा महिलालाई फेला पारिएको थियो । उद्धार गरेर बाहिर निकाल्दा मृत्यु भइसकेको थियो,’ एसपी थापाले भने ।

दुर्घटनामा परेर गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी २८ वर्षीय तेजकुमार तेम्जोङ र गाडीमा सवार ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का अन्दाजी २२ वर्षीय दिपेन रसाईली घाइते भएका छन् । घाइते दुवै जनालाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी एसपी थापाले दिए ।

उनका अनुसार गाडीमा यात्रुसँगै २ हजार ५ सय वटा कुखुराका चल्ला पनि थिए । गाडी दुर्घटनामा परेपछि केही चल्ला मरेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.