
काठमाडौं । कानुन व्यवसायीहरूले मंगलबार दिउँसो लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा भएको उक्त प्रदर्शन सर्वोच्च अदालतभित्र विकसित घटनाक्रमप्रति विरोध जनाउने उद्देश्यले गरिएको हो ।
एसोसिएसनका अनुसार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुनै नसक्ने अवस्था सिर्जना भएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाइएको छ । बारको आइतबारको बैठकले यस्तो परिस्थितिको विरोधमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
निर्णयअनुसार मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गण तथा सर्वोच्च अदालत परिसर आसपास कानुन व्यवसायीहरू भेला भई लालटिन बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले कुनै नारा वा होहल्ला नगरी मौन रूपमा सत्य र न्यायको खोजीको सन्देश दिएका थिए ।
लालटिनलाई अँध्यारोमा बाटो देखाउने साधनको प्रतीकका रूपमा प्रयोग गरिएको थियो । जसले न्यायिक प्रक्रियामा देखिएको अन्योल र अवरोधप्रति संकेत गरेको कानुन व्यवसायीहरूको भनाइ छ ।
बार एसोसिएसनले विरोध कुनै व्यक्तिविशेषविरुद्ध नभई न्यायिक प्रक्रियामा देखिएको समस्याप्रति लक्षित रहेको स्पष्ट पारेको छ । संवैधानिक उपचार खोज्ने नागरिकको अधिकार प्रभावित हुने अवस्था स्वीकार्य नहुने कानुन व्यवसायीहरुको धारणा छ ।

























