
काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक ६ दशमलव ५१ अंकले घटेर २७२४ दशमलव ३९ विन्दुमा बन्द भएको हो ।
यसदिन ३ अर्ब ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ३४६ कम्पनीका ७८ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका हुन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ ।
कारोबारमा ११३ कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १४ दशमलव २६ प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा सिटी होटल अगाडि रह्यो । होटलको २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । साहस ऊर्जा, आँखुखोला जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाइ प्यानल नेपालको पनि उच्च कारोबार भएको छ ।
डेभलपमेन्ट बैंक, फाइनान्स, माइक्रोफाइनान्स र नन लाइफ इन्स्योरेन्स समूहमा सुधार देखिए पनि अधिकांश उपसूचक भने घटेका छन् ।

























