संसदमा के भने अर्थमन्त्रीले ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार १७:१०

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटका प्राथमिकता जनताबाट अनुमोदित एजेन्डाअनुसार ल्याइएको बताएका छन् ।

प्रतिनिधिसभा (संसद)मा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले फरक मत लोकतन्त्रको स्वाभाविक अभ्यास भएको उल्लेख गरे । उनले सबै दलको लक्ष्य समुन्नत र सुशासित नेपाल निर्माण नै रहेको भन्दै गन्तव्यमा भन्दा त्यहाँ पुग्ने बाटोमा मात्रै मतभेद रहेको बताए ।

Advertisement

विगत तीन दशकको शासनशैलीकै कारण राजनीतिक पुस्तान्तरण र आर्थिक–सामाजिक रूपान्तरणको माग उठेको दाबी गर्दै उनले देशले कुशासनको ठूलो मूल्य चुकाउनु परेको टिप्पणी गरे । अर्थमन्त्री वाग्लेले सरकारले ‘सुशासनको लाभांश’ र शासकीय सुधारलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे ।

निर्वाचनअघि सार्वजनिक गरिएको वाचापत्रअनुसार नै १०० वटा शासकीय सुधारको मार्गचित्र, नीति तथा कार्यक्रम तथा बजेटको प्राथमिकता तय गरिएको उनको भनाइ थियो । विपक्षीतर्फ संकेत गर्दै उनले जनताले अनुमोदन नगरेको आफ्नै दस्तावेज कार्यान्वयन गराउन अर्को चुनाव कुर्नुपर्ने टिप्पणी गरे ।

साथै, संविधानप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै संविधान संशोधन गर्नु परे पनि संविधानकै व्यवस्था र प्रक्रियाअनुसार मात्रै अघि बढ्ने वाग्लेले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.