
काठमाडौं । निर्वाचन आयोगले २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिध सभा सदस्य निर्वाचनको पूर्ण खर्च सार्वजनिक गरेको छ । आयोगका अनुसार निर्वाचन सम्पन्न गर्न जम्मा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ ।
सरकारले उक्त निर्वाचनका लागि आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएको थियो । उपलब्ध बजेटमध्ये करिब १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम बचत भएको आयोगले जनाएको छ ।
कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मान्दा निर्वाचन खर्च प्रतिमतदाता २ सय ६३ रुपैयाँ परेको छ । आयोगका अनुसार यो लागतमा निर्वाचन तयारी, मतदान सामग्री व्यवस्थापन, कर्मचारी परिचालन, सुरक्षा व्यवस्था, सूचना तथा प्रविधि व्यवस्थापन लगायतका सबै खर्च समावेश छन् ।
निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक गर्दै पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउन नियमित रूपमा यस्ता विवरण सार्वजनिक गरिँदै आएको जनाएको छ । साथै, आगामी निर्वाचनहरूमा प्रविधिको उपयोग र व्यवस्थापकीय सुधारमार्फत खर्च अझ प्रभावकारी बनाउन सकिने अपेक्षा पनि आयोगले व्यक्त गरेको छ ।
यसरी सार्वजनिक गरिएको विवरणले निर्वाचन व्यवस्थापनको समग्र लागत र राज्यको खर्च संरचनाका बारेमा स्पष्ट चित्र प्रस्तुत गरेको आयोगको भनाइ छ ।



















