कोशीको तराईमा दुर्घटनाको मुख्य कारण सिटी सफारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार ०६:३७

इटहरी । कोशी प्रदेशको तराई क्षेत्रमा छोटो दूरीको यात्राका लागि अत्यधिक प्रयोग हुने उपयुक्त सवारीसाधन हो, सिटी सफारी । तर, अहिले सडक दुर्घटनाको ठूलो एवं मुख्य जोखिमका रूपमा सिटी सफारी देखिन थालेको छ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले सिटी सफारी दुर्घटना डरलाग्दो दरमा बढिरहेको देखाउँछ । दुर्घटनाको मुख्य कारण नै सफारी बनिरहेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार तीन वर्षमा सिटी सफारीका कारण १ हजार ६ सय ७५ दुर्घटना भएका छन् ।

Advertisement

दुर्घटनामा परेर ५३ जनाले ज्यान गुमाएका छन् । १ सय ३२ जना गम्भीर र २ हजार ८ सय ३७ जना सामान्य घाइते भएका छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–०८१ मा ३५५ दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । त्यस वर्ष ३७ जना गम्भीर र ६०३ जना सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष २०८१–०८२ मा दुर्घटना संख्या बढेर ६२० पुगेको थियो । मृत्यु संख्या १७ नै रहे पनि घाइतेको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ । उक्त अवधिमा ४८ जना गम्भीर र १ हजार ६९ जना सामान्य घाइते भएका थिए ।

चालु आर्थिक वर्ष २०८२–०८३ को वैशाखसम्म मात्रै ७०० दुर्घटना भइसकेका छन् । यो अवधिमा १९ जनाको मृत्यु भएको छ भने ४७ जना गम्भीर र १ हजार १ सय ६५ जना सामान्य घाइते भएका छन् । अझै दुई महिना बाँकी रहेकाले दुर्घटना संख्या थप बढ्ने अनुमान गरिएको छ ।

जिल्लागत रूपमा मोरङ, सुनसरी र झापा सिटी सफारी दुर्घटनाको सबैभन्दा जोखिमयुक्त जिल्ला बनेका छन् । सिटी सफारी पनि कोशी प्रदेशभित्र यी तीन जिल्लामा मात्रै सबैभन्दा धेरै सञ्चालनमा छन् । उदयपुरको पनि केही भागमा सञ्चालमा छन् । तीन चक्के सफारी तराई क्षेत्रमा मात्रै सञ्चालन सम्भव छ । यद्यपि, अटो टेम्पोजस्ता तीन चक्के सवारीसाधन भने पहाडी जिल्लामा पनि सञ्चालनमा छन् ।

चालु आर्थिक वर्षको वैशाखसम्म मोरङमा मात्रै ३७१ दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सुनसरीमा १७९ दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने झापामा १२९ दुर्घटनामा १ जनाको मृत्यु भएको छ । उदयपुरमा २१ दुर्घटनामा १ जनाको ज्यान गएको तथ्यांक छ ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार अनियन्त्रित गति, चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, ट्राफिक नियम उल्लंघन तथा सर्भिस लेन प्रयोग नगर्नु दुर्घटनाका मुख्य कारण हुन् । चालु आर्थिक वर्षको वैशाखसम्म सिटी सफारीमाथि ६ हजार ६ सय ४३ वटा कारबाही गरिएको छ । कारबाहीबाट ५१ लाख ३० हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको डीएसपी श्रेष्ठले बताए ।

सहरदेखि ग्रामीण बजारसम्म तीव्र रूपमा फैलिएको सिटी सफारी अहिले सहज यातायातको साधनभन्दा बढी सडक सुरक्षाको चुनौती बन्दै गएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले बताए । सफारीका कारण बढ्दो दुर्घटना न्यूनीकरण गर्नका लागि चालक प्रशिक्षण, कडा अनुगमन र सुरक्षामापदण्ड कार्यान्वयनलाई ट्राफिक प्रहरीले प्राथमिकता दिएर काम गरिरहेको एसपी गिरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.