वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १०:१२

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन् । सर्वोच्च अदालत स्रोतका अनुसार प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी पछिल्ला प्रक्रियापछि उत्पन्न परिस्थितिबीच उनी बिदामा बसेकी हुन् ।

यसअघि तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ बर्से उमेरहदका कारण अवकाशमा गएपछि न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । तर, संवैधानिक परिषद्ले वरिष्ठता अनुसार नभई आफूभन्दा जुनियर डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशका लागि सिफारिस गरेपछि न्यायिक वृत्तमा असन्तुष्टि र चर्चा चुलिएको थियो ।

Advertisement

सिफारिसपछि संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी डा. शर्माले मंगलबार शपथ ग्रहण गर्दै प्रधान न्यायाधीशको पदभार सम्हालिसकेका छन् । शपथ ग्रहण कार्यक्रममा पनि कामु प्रधान न्यायाधीशको जिम्मेवारीमा रहेकी मल्ल सहभागी भइनन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको पुष्टि गरेका छन् । उनका अनुसार बिदा नियमित प्रशासनिक प्रक्रिया अनुसार स्वीकृत गरिएको हो ।

प्रधान न्यायाधीश नियुक्ति प्रक्रियासँग जोडिएका पछिल्ला घटनाक्रमबीच सर्वोच्च अदालतको नेतृत्वमा आएको परिवर्तनले न्यायिक वृत्तमा थप चासो बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.