
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुम्वासी समस्या, सामाजिक सुरक्षा र सडक सुरक्षाजस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आकस्मिक समयमा बोल्दै सांसदहरूले नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । सांसद ज्ञानु पौडेलले देशभर गुणस्तरीय स्वास्थ्य सेवा अझै प्रभावकारी बन्न नसकेको बताउँदै रूपन्देहीस्थित ९३ वर्ष पुरानो भीम अस्पतालमा एन्टी–रेबिज खोप, सर्पदंश उपचारका औषधि तथा अन्य जीवनरक्षक औषधिको अभाव रहेको उल्लेख गरिन् । उनले तत्काल आवश्यक औषधि व्यवस्थापन गर्न सरकारसँग माग गरिन् ।
सांसद डा. अर्जुनकुमार कार्कीले इबोला भाइरस संक्रमणको जोखिमप्रति सरकार सचेत हुनुपर्ने बताए । अफ्रिकी मुलुकमा कार्यरत नेपाली नागरिकमार्फत संक्रमण नेपाल भित्रिन सक्ने सम्भावना रहेकाले विमानस्थल र सीमा नाकामा निगरानी तथा स्वास्थ्य परीक्षण कडा बनाउनुपर्ने उनको भनाइ थियो ।
हुम्लाको चङ्खेली गाउँपालिका–५ मा आएको भीषण बाढीबारे सांसद यशोदाकुमारी बराल र रमेश सापकोटाले संसदमा कुरा उठाए । सडक पहुँच नहुँदा प्रभावित क्षेत्रमा राहत पुग्न समस्या भएको उल्लेख गर्दै उनीहरूले हेलिकप्टरमार्फत उद्धार तथा राहत सामग्री पुर्याउन र दीर्घकालीन विपद् व्यवस्थापन संयन्त्र बनाउन माग गरे ।
सांसद खडकबहादुर बुढाले प्राकृतिक विपदबाट क्षति पुगेका सडक, खानेपानी तथा अन्य पूर्वाधारको पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने बताए । सुकुम्वासीको समस्याका बारेमा सांसद गुरुप्रसाद बरालले होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकको अवस्था कष्टपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको स्थायी व्यवस्थापनका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
सांसद मदनकृष्ण श्रेष्ठले अति अपांगता भएका व्यक्तिको संरक्षण र हेरचाहका लागि विशेष भत्ता वा सहयोग कार्यक्रम ल्याउन सरकारसँग माग गरे । सांसद समिना मियाँले मुस्लिम समुदायको पर्व बकर इदका बेला तय गरिएका परीक्षा स्थगित गरेर सांस्कृतिक संवेदनशीलताको सम्मान गर्नुपर्ने धारणा राखिन् ।
सांसद साजिदा खातुन सिद्धिकीले देशभर सडक दुर्घटना बढ्दै गएको भन्दै सडक सुधार, ट्राफिक व्यवस्थापन र सुरक्षा उपाय प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिन् ।

























