
काठमाडौं । इरानमा पक्राउ परेका नेपाली युवा अमृत झासँग ५५ लाख रुपैयाँ धरौटी माग गरिएको उनकी बहिनी पूजाले दाबी गरेकी छन् ।
पूजाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दाजुको अवस्था अत्यन्त कठिन रहेको उल्लेख गरेकी छन् । उनका अनुसार परिवार र साथीहरू सबै प्रयासमा जुटिरहेका भए पनि ठूलो रकम जुटाउन सकिएको छैन । उनले यस कठिन समयमा सहयोगका लागि सम्पूर्ण नेपाली समुदायसँग अपिल गरेकी छन् ।
पूजाले लेखेकी छन्, ‘परदेशमा एक्लै यस्तो परिस्थिति भोग्नु कति पीडादायी हुन्छ, त्यो कल्पना गर्न पनि कठिन छ । परिवारजन र साथीहरू आफ्नो सम्पूर्ण प्रयासमा जुटिरहेका छौं । तर, यति ठूलो रकम जुटाउन एक्लैले सम्भव भइरहेको छैन ।’
झा हाल इरानको जेलमा रहेका छन् । उनको मुद्दा र धरौटीसम्बन्धी प्रक्रिया अझै स्पष्ट नभएको पारिवारिक पक्षले जनाएको छ ।
यसअघि यस घटनाबारे गलत वा भ्रमपूर्ण अभिव्यक्ति आएको भन्दै विवाद पनि उत्पन्न भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भइसकेको भनी दिएको भनिएको अभिव्यक्तिपछि स्थिति झन् अन्योलपूर्ण बनेको थियो । मन्त्रालयले माफी नै मागेको छ । तर, पछिल्लो पारिवारिक विवरणअनुसार झा अझै कानुनी प्रक्रियामै रहेका छन् ।
परिवारका अनुसार आधिकारिक जानकारी स्पष्ट नहुँदा झा प्रकरण थप जटिल बनेको छ । उनीहरूले कूटनीतिक पहल तीव्र बनाउन र आवश्यक कानुनी सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।
विदेशमा रहेका नेपालीहरू विभिन्न कानुनी समस्या र आर्थिक कठिनाइका कारण जेल वा हिरासतमा पर्ने घटना दोहोरिँदै आएका छन् । यस्ता अवस्थामा समयमै सूचना र सहयोग नपाउँदा परिवारहरू थप पीडामा पर्ने गरेका छन् । झापाको परिवारले सहयोग र कूटनीतिक पहलको अपिल गरिरहेको छ ।


























