कोशीको गार्हस्थ्य उत्पादन १० खर्ब नाघ्ने अनुमान, आर्थिक वृद्धिदर ३.१ प्रतिशतको प्रक्षेपण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार ०७:३९

विराटनगर । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) चालु आर्थिक वर्ष २०८२–०८३ मा १० खर्ब नाघ्ने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादन १० खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको हो ।

तथ्यांक समन्वय कार्यालय विराटनगरले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा अनुमान अनुसार प्रदेशको आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहने प्रक्षेपण पनि गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक दिनेश भट्टराईका अनुसार गत आर्थिक वर्षमा कोशी प्रदेशको जीडीपी संशोधित अनुमान अनुसार ९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो ।

Advertisement

उनले राष्ट्रिय अर्थतन्त्रमा कोशी प्रदेशको योगदान १५.८ प्रतिशत रहेको जानकारी दिँदै यो महत्वपूर्ण हिस्सा भएको बताए । उनका अनुसार कोशी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा केही कम रहेको देखिएको छ । यद्यपि, प्रदेशको अर्थतन्त्र आकारका हिसाबले बागमतीपछि दोस्रो स्थानमा रहेको पनि उनले उल्लेख गरे ।

तथ्यांकअनुसार कोशी प्रदेशको जीडीपी २०७५–०७६ मा ६ खर्ब हाराहारीमा थियो । जुन पछिल्ला वर्षहरूमा निरन्तर विस्तार हुँदै आएको छ । तर, आर्थिक संरचनामा उत्पादन क्षेत्रको हिस्सा अपेक्षाकृत कमजोर देखिएको तथ्यांकले देखाएको छ ।

कार्यक्रममा तथ्यांक समन्वय कार्यालय मोरङका प्रमुख सुवास अधिकारीले संकलित तथ्यांकको विश्लेषण नीति निर्माण, बजेट तथा विकास योजना तयार पार्न प्रभावकारी रूपमा प्रयोग हुनुपर्नेमा जोड दिए । उनले उपलब्ध स्रोत र तथ्यांकलाई व्यवहारिक योजना निर्माणसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी, कार्यक्रममा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला र आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले प्रदेशको आर्थिक आधारलाई सुदृढ बनाउन उत्पादनमूलक क्षेत्र विस्तार आवश्यक रहेको धारणा राखे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.