मोरङमा अवैध क्रसरमाथि कारबाही

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार ११:४४

विराटनगर । मोरङमा मापदण्डविपरीत र अनुमतिविना सञ्चालन भइरहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगमाथि स्थानीय प्रशासनले कारबाही गरेको छ ।

एउटा उद्देश्यका लागि अनुमति लिएर अर्कै व्यवसाय सञ्चालन गरिरहेको पाइएपछि जिल्ला अनुगमन समितिले मोरङका दुईवटा उद्योग बन्द गराएको हो । एउटालाई नगद जरिबाना गरिएको छ ।

Advertisement

बेलबारी, मिक्लाजुङ र लेटाङमा सञ्चालित क्रसर उद्योगहरूले अवैध रुपमा ढुंगा, गिट्टी उत्खनन र बिक्री गरिरहेको फेला परेको हो ।

कान्तिपुर वासिङलाई जरिबाना

बेलबारीमा अवस्थित कान्तिपुर वासिङ प्रा.लिले बालुवा प्रशोधन (वासिङ)को मात्र अनुमति पाएको छ । तर, अनुगमनका क्रममा अवैध रूपमा क्रसिङ (गिट्टी निकाल्ने) कार्य गरिरहेको भेटिएपछि गत चैत ३० गते प्रशासनले यसलाई बन्द गराएको थियो । औद्योगिक व्यावसायिक ऐन अनुसार उद्योगलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

जरिबानापछि हाल बालुवा प्रशोधनका लागि मात्र सञ्चालन अनुमति दिइएको छ । अनुमतिविना ढुंगा र गिट्टी बिक्री गरी कर छली गरेको आशंकामा थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालयलाई पत्र पठाइएको अनुगमन समितिले जनाएको छ ।

दर्ता नै नभएको महाभगवती क्रसिङ

लेटाङमा सञ्चालित महाभगवती क्रसिङ प्रा.लि कुनै पनि सरकारी निकायमा दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभाग वा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको प्रमाण पेस गर्न नसकेपछि यसलाई तत्काल बन्द गरी थप कारबाहीका लागि सिफारिस गरिएको हो । उद्योगले ठूलो परिमाणमा ढुंगा र गिट्टी अवैध रूपमा उत्खनन गरी बिक्री गर्दै आएको थियो ।

देवीथान कंक्रिट उद्योग सिल

मिक्लाजुङस्थित देवीथान कंक्रिट उद्योगले पनि चरम लापरबाही गरेको भेटिएको छ । बालुवा प्रशोधन, ह्युमपाइप, बिजुलीको पोल र कंक्रिट इँटा बनाउने अनुमति लिएको उद्योगले अनुमतिविना नै क्रसिङ मेसिन चलाइरहेको फेला परेको हो ।

प्रारम्भिक वातावरणीय परीक्षणसमेत नगरी उत्खनन गरेको भेटिएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नभई ‘प्रा.लि)को नाममा फर्जी बिल काटेर बिक्री गरिरहेको पाइएपछि सिल गरेर कारवाही प्रक्रिया अघि बढाएको हो ।

मोरङको ग्रामथान क्षेत्रमा पर्ने लोहन्द्रा खोला खण्डमा मेसिन प्रयोग गरी भइरहेको अवैध उत्खननमा प्रशासनले रोक लगाएको छ । सो क्षेत्रमा भइरहेको अनियन्त्रित उत्खननको रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि व्यवसायीले दुर्व्यवहार गरेपछि यो विषय थप चर्चामा आएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार तत्कालका लागि मेसिन प्रयोगमा रोक लगाउँदै घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । समितिको प्रतिवेदन आएपछि दोषीमाथि कारबाही र थप कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.