
विराटनगर । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मुलुकभरका पत्रकारलाई सरकारविरुद्धको आन्दोलनमा होमिन आह्वान गरेकी छन् ।
सरकारले तानासाह प्रवृत्ति देखाइरहेको भन्दै उनले सरकारविरुद्ध अब आन्दोलनको विकल्प नभएको बताइन् । नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारणसभा उद्घाटन समारोहलाई विराटनगरमा बिहीबार सम्बोधन गर्दै शर्माले सरकारले सरकारी विज्ञापन वितरण प्रक्रिया सच्याउनुपर्नेमा जोड दिइन् ।
विज्ञापन वितरणमा सरकारले देखाएको रवैयाको उनले खुलेर विरोध गरिन् । अध्यक्ष शर्माले सरकारले आफ्नो निर्णय नसच्याएसम्म आन्दोलन जारी रहेको बताइन् । ‘तानासाह बन्दै गएको सरकारले मिडिया कब्जा गर्ने प्रयास गरिरहेको छ । सञ्चार क्षेत्रलाई कब्जामा लिएर लोकतन्त्र संकटमा पार्न खोज्दैछ । करिब दुईतिहाइ बहुमतको सरकार नै लोकतन्त्रको लागि संकट बन्न सक्छ,’ अध्यक्ष शर्माले भनिन् ।
उनले सरकारको निर्णयप्रति पत्रकारहरु एक हुँदै आन्दोलनमा होमिने चेतावनी दिइन् । ‘सरकार सितिमिति हिसाबले टेर्नेवाला छैन । देशभरका पत्रकारले सडक आन्दोलन गर्नुपर्ने अवस्था छ । त्यसको अगुवाइ पत्रकार महासंघले गर्छ । अब आन्दोलनमा होमिन सबै तयार भएर बसौं । अब जिल्ला–जिल्ला, प्रदेश–प्रदेश र काठमाडौंमा आन्दोलन गरेर सरकारलाई निर्णय सच्याउन बाध्य बनाउनुपर्ने अवस्था छ,’ शर्मा भन्छिन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष रविनकुमार दाहालले पत्रकारहरुले बेथिति र अराजकताविरुद्ध प्रश्न गरिरहनुपर्नेमा जोड दिए । उपाध्यक्ष दाहालले भने, ‘पछिल्लो समय सञ्चारक्षेत्रसँगै निजी क्षेत्र पनि त्रासको वातावरणमा रहेको छ । पहिले सुन्ने र थुन्ने भन्ने थियो । तर, अहिले थुन्ने र सुन्नेमा सरकार केन्द्रित भएको छ ।’
सरकारले जुनसुकै हर्कत देखाए पनि पत्रकारले प्रश्न गर्न छाड्न नहुने दाहालको भनाइ छ । ‘पत्रकारिता क्षेत्र ‘वाच डग’का रुपमा रहनुपर्छ । पत्रकारले राम्रो विषयलाई पनि उठान गर्नुपर्छ र नराम्रो विषयको पनि उजागर गर्नुपर्छ,’ उनले भने ।
विद्यावारिधि गरेका पत्रकार महासंघ मोरङका पूर्वउपाध्यक्ष डा. रामचन्द्र अधिकारीलाई कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो । साथै, महासंघ मोरङ शाखामा कार्यालय सचिवका रूपमा विगत २९ वर्षदेखि निरन्तर कार्यरत दीपक फुयाँल र न्यूरो अस्पताललाई पनि सम्मान गरियो ।
सोही क्रममा सरकारले गरेको निर्णयप्रति हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, विराटनगर महागनरपालिकाका मेयर नागेश कोइरालालगायतको उपस्थिति रहेको थियो ।



















