
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन भारत जान लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बिदाइ गर्दै मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।
खेलाडीहरूलाई राष्ट्रिय झन्डा र जर्सी हस्तान्तरण गर्दै मन्त्री पोखरेलले भने, ‘हामीसँग स्रोत र साधन सीमित छन्, तर ती सीमितताका बाबजुद खेलाडीको उच्च सम्मान र खेल पूर्वाधारको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ । नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरेको सफलता र प्रदर्शन प्रशंसनीय छ ।’ उनले टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रन र राष्ट्रको शिर उच्च बनाउन शुभकामना समेत दिए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले सरकारको पछिल्लो नीति र खेलकुदप्रतिको चासोले नेपाली फुटबलले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे । उनले टोलीको तयारी राम्रो रहेको र मैदानमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य रहेको बताए ।
प्रतियोगिता जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाओ, गोवामा हुनेछ । च्याम्पियनसिपमा भाग लिन नेपाली टोली जेठ ८ गते भारत प्रस्थान गर्ने तालिका छ । प्रतियोगिता सम्पन्न गरी टोली जेठ २५ गते स्वदेश फर्कने छ ।
पछिल्लो समय नेपाली महिला फुटबल टोलीले दक्षिण एसियाली क्षेत्रमा बलियो उपस्थित जनाउँदै आएको छ । यस पटक पनि टोलीबाट उपाधिको बलियो आशा गरिएको छ ।



















