
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलले दलको पदाधिकारीहरू टुंगो लगाएको छ । संसदीय दलको रिक्त रहेको उपनेताको जिम्मेवारी पूर्वसभामुख एवं सांसद बाबुराम गौतमलाई दिइएको छ ।
गौतम यसअघि कोशी प्रदेशसभामा सभामुखको जिम्मेवारीमा थिए । सत्ता समीकरणको फेरबदलका क्रममा उनले सभामुख पदबाट राजीनामा दिएका थिए ।
बिहीबार संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दलको विधान बमोजिम रिक्त रहेका पदहरूमा मनोनयन गरेका हुन् । जसअनुसार दलको प्रमुख सचेतकमा विद्या चाम्लिङ र सचेतकमा सपना दर्जी चयन भएका छन् ।
प्रमुख सचेतकको जिम्मेवारी पाएकी चाम्लिङ तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित सांसद हुन् भने उपनेता गौतम र सचेतक दर्जी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सांसद हुन् ।
संसदीय दलका नेता आङ्बोले प्रदेशसभामा पार्टीको उपस्थिति र भूमिकालाई थप प्रभावकारी, व्यवस्थित र सशक्त बनाउनका लागि नयाँ जिम्मेवारी तोकिएको बताए । यो मनोनयनसँगै कोशी प्रदेशसभामा नेकपा संसदीय दलको संरचनाले पूर्णता पाएको छ ।



















