चालु आर्थिक वर्षमा व्यापार १९ खर्बमाथि, घाटा निरन्तर बढ्दो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १५:०९

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापार १९ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा कुल व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको छ ।

यो आँकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९२ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । व्यापार संरचनामा आयातको हिस्सा उच्च देखिएको छ ।

Advertisement

चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १४.८२ प्रतिशतले वृद्धि हो । गत वर्ष सोही अवधिमा आयात १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ थियो ।

यसै अवधिमा निर्याततर्फ २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा विदेश पठाइएको छ । जुन अघिल्लो वर्षको तुलनामा १४.२५ प्रतिशतले वृद्धि हो । गत वर्ष सोही अवधिमा निर्यात २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ थियो ।

आयात र निर्यातबीचको ठूलो अन्तरका कारण देशको व्यापार घाटा अझै उच्च देखिएको छ । १० महिनामा मात्र व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.