
काठमाडौं । देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएपछि जल तथा मौसम विज्ञान विभागले तातो हावा तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार आगामी तीन दिनसम्म विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा गर्मी अत्यधिक बढ्ने सम्भावना रहेको हो । विभागले शुक्रबार साँझ सार्वजनिक गरेको बुलेटिनअनुसार केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्नेछ भने थोरै क्षेत्रमा ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी तापक्रम मापन हुनसक्ने अनुमान गरिएको छ ।
बढ्दो गर्मीले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता र पूर्वतयारी गर्न अनुरोध गरेको हो । विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मध्यम स्तरको तातो लहर तथा पहाडी भू–भागमा तातो दिनको अवस्था रहने सम्भावना छ ।
सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र लुम्बिनीका केही तराई जिल्लामा जेठ ६ गतेदेखि नै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड भइसकेको उनले बताए । विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लालाई पनि निगरानीमा राखिएको जनाएको छ ।
तातो हावा र लुको प्रभावका कारण अत्यधिक थकान महसुस हुने, शरीर कमजोर हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, खुट्टा बाउँडिने, मांसपेशी दुख्ने, बान्ता हुने तथा बेहोस हुन सक्ने जोखिम रहने विभागले जनाएको छ । विभागले दिउँसोको चर्को घाममा सकेसम्म बाहिर ननिस्किन, घरभित्र वा चिसो स्थानमा बस्न, हल्का र सुतीका कपडा लगाउन तथा बाहिर निस्कँदा टाउको छोप्न सुझाव दिएको छ ।
त्यस्तै प्रशस्त पानी, जुस तथा झोल पदार्थ सेवन गर्न र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्यकर्मीको सल्लाह लिन पनि आग्रह गरिएको छ । साथै, मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने दैनिक मौसम बुलेटिन नियमित रूपमा हेरी अद्यावधिक जानकारी लिन विभागले अनुरोध गरेको छ ।

























