
विराटनगर । कोशी प्रदेशका राज्यमन्त्री सवार गाडीलाई भ्यानले ठक्कर दिएको छ । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा दुर्घटना भएको हो ।
बरगाछीबाट आयल निगमतर्फ जाँदै गरेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम सवार प्र १–०२–००१ झ ७०८ नम्बरको गाडीलाई शुक्रबार दिउँसो ३ः२० बजेतिर प्र १–०२–००२ च ६७९० नम्बरको भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनबारीको ट्राफिक लाइटमा रोकिएका बेला राज्यमन्त्री गौतमको गाडीलाई भ्यानले ठक्कर दिएको थियो ।
ठक्करबाट दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको छ । दुर्घटनालगत्तै प्रहरीले दुवै सवारीसाधन र भ्यान चालक मोरङको केराबारी गाउँपालिका–८ का अन्दाजी ५० वर्षीय चित्रकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
राज्यमन्त्रीको गाडीका चालक विराटनगर महानगरपालिका–७ का अन्दाजी ३४ वर्षीय दीपक कामत पनि प्रहरीको सम्पर्कमा छन् । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
आफू चढेको गाडी सामान्य दुर्घटनामा परे पनि राज्यमन्त्री गौतम भने गन्तव्यतर्फ लागिसकेका छन् । रातो ट्राफिक लाइटमा राज्यमन्त्रीको गाडी रोकिएका बेला भ्यान चालकको लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























