
पाँचथर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको याङ्वरक गाउँपालिकामा ठूलो धनजनको क्षति पुर्याएको छ । बाढीले दुईवटा घर पूर्ण रूपमा बगाएको छ भने आधा दर्जनभन्दा बढी पुल र सडक पूर्वाधारमा क्षति पुगेको छ ।
याङ्वरक-१ निवासी महमलाल खवासको बसोबास गर्ने घर र गोठ बाढीले बगाएको छ । सोही स्थानका कविराज राईको घर पनि बाढीले बगाएको छ भने बलबहादुर खालिङको भान्साघर पहिरोले पुरेको छ । ओयाम बजार क्षेत्रमा पनि पहिरो खसेकाले थप जोखिम बढेको छ ।
यातायात अवरुद्ध
बाढीले निर्माणाधीन र सञ्चालनमा रहेका धेरै पुलहरूमा क्षति पुर्याएको छ । पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ । यस्तै, पाँचथरको हिलिहाङ र ताप्लेजुङ जोड्ने निर्माणाधीन ‘लिम्बुनी मोटरएबल पुल’ पनि बाढीले बगाएको छ ।
गाउँपालिकाभित्र च्याङथापु र चाम्लिङडाँडा जोड्ने झाेलुङ्गे पुल, च्याङथापु र एकराते जोड्ने झाेलुङ्गे पुल र याङवरक-२ दोभानेस्थित नाम्रेक र फलैचा जोड्ने झाेलुङ्गे पुल पनि बगाएकाे छ ।
मध्यपहाडी लोकमार्गको थर्पु–चिवाभञ्ज्याङ खण्ड ठाउँ-ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध भएको छ । दोभानेमा रहेको डाइबर्सन र एउटा निर्माणाधीन पुलसमेत बाढीले बगाएको छ ।
बाढी-पहिरोका कारण मोबाइल नेटवर्क र विद्युत् सेवा अवरुद्ध भएको छ । सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विस्तृत विवरण सङ्कलन गर्न कठिन भइरहेको छ । पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्णका अनुसार फोन सम्पर्क हुन नसक्दा उद्धार र राहतका लागि समन्वय गर्न समस्या भइरहेको छ । यद्यपि, प्रहरीले क्षतिको पूर्ण विवरण लिने प्रयास गरिरहेको उनले बताए ।
बाढीले याे क्षेत्रको मुख्य नगदे बाली अलैँची खेतीमा व्यापक क्षति पुर्याएको छ । खोला किनारका खेतीयोग्य जमिनहरू बाढीले कटान गरी बगाएको छ ।

























