
माेरङ । पूर्वपश्ची राजमार्गकाे काँकरभिट्टाबाट–लौकही सडकखण्डकाे कालाेपत्रे विटुमिन (अलकत्रा) को अभावमा राेकिएकाे छ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत सुरु भएकाे सडक निर्माण याेजनाका विटुमिन अभावका कारण राेकिएकाे हाे ।
मुल्यवृद्धिका कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार दुई महिना अघिसम्म प्रतिलिटर १०० देखि ११० सम्ममा पाइरहेको भारतीय विटुमिन अहिले १५० भन्दा बढी पर्न थालेको छ । नेपाल विटुमिन तथा ब्यारल उद्योगले भने विटुमिनको अभाव नभई मूल्य भने अप्रत्यासित रूपमा बढेको जनाएको छ ।
निर्माण सुुरु भएको ३० महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिए । उनका अनुसार विटुमिन अभाव भए पनि कङ्क्रिटसम्बन्धी काम धमाधम भइरहेका छन् ।
हाल ओभरपास, अण्डरपास, वेस, सववेस, नालालगायत संरचना निमार्ण भइरहेको छ । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट पश्चिम ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।
एसियन हाइवे निर्माण सम्पन्न भएमा थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व-पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्ने प्रमुख प्रजापतिले जानकारी दिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण सुरु भएको थियो ।

























