
तेह्रथुम । पूर्वी नेपालकै प्रमुख पर्यटकीय आकर्षण ह्यात्रुङ झरना अहिले आफ्नो प्राकृतिक चिनारी गुमाउने जोखिममा छ । जलवायु परिवर्तनका कारण नेपालकै दोस्रो अग्लो झरना प्राकृतिक चिनारी गुमाउने जाेखिममा पुगेकाे हाे ।
समुद्री सतहबाट करिब १ हजार ५ सय मिटर उचाइमा रहेकाे झरना तेह्रथुमको फेदाप गाउँपालिका–४ को सम्दु र वडा नम्बर ५ को इसिबु गाउँको सिमानामा पर्छ । ३६५ मिटर अग्लाे यो झरना पानीको बहाव घट्दै जाँदा हिउँदमा ‘तिरतिरे धारो’मा सीमित हुन थालेको छ । वर्खामा भने ठूलाे झरनाकाे रुप लिन्छ । पहाडको अग्लो काखबाट सेतो दुधको धाराझैँ खस्ने ह्यात्रुङको दृश्यले पर्यटकलाई लोभ्याउने गरे पनि पछिल्ला वर्षहरूमा यसको आकर्षण फिक्का बन्दै गएको हाे ।
जलवायु परिवर्तन, अव्यवस्थित वन विनास र वर्षाको अनियमितताका कारण झरनामाथिका पानीका मुहानहरू सुक्न थालेका छन् । ‘पहिले वर्षैभरि एकनासले बग्ने यो झरना अहिले सुख्खा मौसममा चिन्नै नसकिने हुन्छ,’ स्थानीय देवी रेग्मी भन्छिन्, ‘पानी नभएपछि झरनाको त्यो गर्जन र सुन्दरता दुवै हराएको छ ।’
झरनाको पर्यटन विकासका लागि हालसम्म करिब ८ करोड रुपैयाँ खर्च गरी पदमार्ग, रेलिङ र झोलुङ्गे पुलजस्ता पूर्वाधार निर्माण गरिएका छन् । तर, मुख्य आकर्षण मानिने झरनामै पानी नभएपछि करोडौँका संरचनाहरू प्रयाेग बिहीन अवस्थामा पुगेका छन् । पर्यटन विज्ञहरूका अनुसार प्राकृतिक सम्पदाको संरक्षण नगरी केवल सिमेन्टका संरचनामा लगानी गर्दा लगानी बालुवामा पानी हाले सरह भएको छ ।
तेह्रथुम आठराईका तुलसी सिटौला भन्छन्, ‘झरनाको आवाज र पानीको फोहोराले यात्राको थकान मेट्थ्यो, तर अब त पानी नै नहोला कि भन्ने डर हुन थाल्यो ।’



















