
विराटनगर । महिला तथा बालबालिकाकाे क्षेत्रमा लामाे समयदेखि काम गर्दै आएकी सामाजिक अभियान्ता सरु केसीकाे निधन भएकाे छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिकी सदस्य र महिला उद्यमसमितिकाे निवर्तमान सभापतिसमेत रहेकी केसीको आइतबार विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो ।
स्वर्गीय केसी सामाजिक क्षेत्रमा सक्रिय थिइन् । बालबालिका तथा महिलाकाे क्षेत्रमा काम गर्ने संस्था सेतो गुराँस मोरङको अध्यक्षसमेत रहेकी उनले जिल्ला बाल कल्याण समितिमा रहेर लामो समय समाज सेवा गरेकी थिइन् ।
उनको निधनले व्यावसायिक क्षेत्र र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न संघ-संस्थाहरूले दुःख व्यक्त गरेका छन् ।



















