
काठमाडौ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा प्रक्रियालाई थप सरल र व्यवस्थित बनाउन ९ बुँदे परिपत्र जारी गरेको छ । नेपाल बैंकर्स संघको आग्रहमा अनलाइन प्रणाली (पाम) लागू भएका सबै मालपोत कार्यालयहरूका लागि यो नयाँ व्यवस्था गरिएको हो ।
अब एउटै धितोमा सोही बैंकबाट थप ऋण लिँदा पुरानो दृष्टिबन्धक खारेज गरिरहनु नपर्ने भएकाे छ । बैंकको सहमतिमा रोक्का रहेको जग्गाको केही हिस्सा मात्र फुकुवा वा कित्ताकाट गर्न मिल्ने भएकाे छ । रोक्का रहेकै जग्गामा बनेको घरको विवरण बैंकको सहमतिमा अद्यावधिक गर्न सकिने छ । दिउँसो १२ बजेअघि परेका निवेदन सोही दिन र १२ बजेपछिका निवेदन भोलिपल्ट १२ बजेभित्र फुकुवा गरिसक्नुपर्नेछ ।
अनलाइन भुक्तानीको रकम मालपोतको खातामा देखिन ढिला भए पनि बैंकको भौचर वा रसिदकै आधारमा रोक्का प्रक्रिया अघि बढ्नेछ ।
सबै बैंक तथा वित्तीय संस्थाहरूका लागि दृष्टिबन्धक लिखतको ढाँचा एउटै बनाइने भएकाे छ ।
हाल विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको दृष्टिबन्धक लिखतमा फरक-फरक सर्त र ढाँचा प्रयोग हुँदा एकरुपता नभएको विभागले जनाएको छ । नयाँ व्यवस्थाले बैंकबाट ऋण लिने सर्वसाधारणले मालपोत कार्यालयमा भोग्दै आएको प्रशासनिक झन्झट कम हुने र वित्तीय कारोबार थप छिटोछरितो हुने विश्वास गरिएको छ ।

























