
विराटनगर । महिला उद्यमीहरूको व्यावसायिक सञ्जाल विस्तार गर्ने र विभिन्न प्रदेशका उद्योग वाणिज्य संघहरूको कार्यशैली एवं वस्तुस्थितिबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको एक टोली ‘अन्तर–प्रदेश अवलोकन तथा अध्ययन भ्रमण’ मा निस्किएको छ ।
संघकी महिला उद्यम समिति संयोजक श्रुति शर्माको नेतृत्वमा रहेको सो टोलीलाई एक विशेष समारोहका बीच बिदाइ गरिएको हो । टोलीलाई मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह र विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की लगायतले यात्राको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै बिदाइ गरे ।
कोशी प्रदेशबाट यात्रा प्रारम्भ गरेको यो टोलीले छिमेकी मधेस प्रदेश, बागमती प्रदेश हुँदै पर्यटकीय एवं औद्योगिक हब गण्डकी प्रदेशसम्मको भ्रमण गर्ने तालिका रहेको छ । यस भ्रमणका क्रममा टोलीले विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग भेटघाट गर्ने, त्यहाँका महिला उद्यमीहरूले भोगिरहेका चुनौती र अवसरहरूबारे अध्ययन गर्ने र व्यावसायिक सम्बन्ध सुदृढ बनाउने लक्ष्य राखेको छ ।
बिदाइ कार्यक्रममा बोल्दै संघका अध्यक्ष अनुपम राठीले महिला उद्यमीहरूको सक्रियताले नै देशको अर्थतन्त्रलाई गतिशील बनाउने बताए । यस्ता अध्ययन भ्रमणले नयाँ सोच र प्रविधिको आदानप्रदानमा मद्दत पुग्ने उनको विश्वास थियो ।
त्यस्तै, उपमेयर शिल्पा निराला कार्कीले विराटनगरका महिला उद्यमीहरूले अन्य प्रदेशका सफल अभ्यासहरूलाई सिकेर यहाँ लागू गर्न सके स्थानीय उत्पादन र व्यापारमा ठुलो टेवा पुग्ने धारणा व्यक्त गरिन् ।
भ्रमण टोलीको नेतृत्व गरिरहनुभएकी श्रुति शर्माले यो भ्रमण केवल घुमफिर मात्र नभई, अन्तर–प्रदेश महिला उद्यमीहरूबीचको सम्बन्धलाई बलियो बनाउने र एक अर्काको सफलताका कथाबाट सिक्ने महत्त्वपूर्ण अवसर रहेको बताइन् ।
अन्तर–प्रदेशका उद्योग वाणिज्य संघहरूको वस्तुस्थिति, उत्पादनको बजारीकरण र महिला नेतृत्वको विकासका विषयमा केन्द्रित यो अध्ययन भ्रमणले आगामी दिनमा मोरङको उद्योग र व्यापार क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

























