
काठमाडौं । देशभर अहिले मौसमको दोहोरो असर देखिन थालेको छ । आज (सोमबार) एकातिर पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना बढेको छ भने अर्कोतिर पश्चिम नेपालका तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने जोखिम देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव परेको छ । यही प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा व्यापक बदली देखिएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा पनि बादल लागेको अवस्था छ ।
मधेश प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । हाल कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ ।
सोमबार दिनभर कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । ती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
यता पश्चिम नेपालमा भने गर्मी थप चर्किने संकेत देखिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अत्यधिक गर्मीका साथै तातो हावा ‘लू’ चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



















