
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने प्रयास भए कानुन व्यवसायी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक कार्यक्रममा बोल्दै उनले प्रधान न्यायाधीशले आफूखुसी पेसी तोक्ने पुरानो अभ्यास फर्काइए न्यायपालिकामाथि राजनीतिक प्रभाव बढ्ने दाबी गरे । गोलाप्रथाले न्यायिक प्रक्रियालाई पारदर्शी बनाएको उल्लेख गर्दै त्यसलाई हटाउने कुनै पनि कदम स्वीकार्य नहुने उनको भनाइ थियो ।
प्रधान न्यायाधीश नियुक्ति प्रक्रियाप्रति पनि उनले असन्तुष्टि जनाए । संवैधानिक परिषद्मार्फत प्रधानमन्त्री निकट व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्ति बढेको आरोप लगाउँदै उनले न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न उठेको बताए ।
सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’ भन्दै आक्रमण गर्ने प्रवृत्ति बढेको टिप्पणी गर्दै मिश्रले अहिले न्यायपालिका जटिल अवस्थाबाट गुज्रिरहेको बताए । यस्तो अवस्थामा कानुन व्यवसायीहरूले विवेकपूर्ण भूमिका खेल्नुपर्ने र न्यायालयलाई बलियो बनाउने जिम्मेवारी पनि वकिलहरूको काँधमा रहेको उनले उल्लेख गरे ।

























