
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका सयौं युवाहरूले दक्षिण कोरिया जान नपाएको भन्दै सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
कोरिया जान नपाएपछि युवाहरु सडकमा निस्किएका हुन् । लामो समयदेखि रोस्टर (ईपिएस प्रणालीअन्तर्गत भाषा तथा सिप परीक्षा पास गरेर दक्षिण कोरिया जानका लागि प्रतीक्षासूचीमा राखिएको नामावली वा सूची)मा नाम रहे पनि रोजगारदाताबाट छनोट नभएको र अन्ततः नाम हट्ने अवस्था आएको भन्दै उनीहरू माइतीघर मण्डलामा उत्रिएका हुन् ।
प्रदर्शनकारी युवाहरूले भाषा र सिप परीक्षा पास गरेर प्रक्रिया पूरा गरे पनि वर्षौंसम्म पर्खाइमा बस्नुपरेको गुनासो गरेका छन् । उनीहरूले दुई वर्षसम्म रोस्टरमा रहेर पनि रोजगारदाताको छनोटमा नपरे स्वतः नाम हट्ने व्यवस्थाले आफूहरूको भविष्य अन्योलमा परेको बताएका छन् ।
उनीहरूले रोस्टरको अवधि कम्तीमा थप दुई वर्ष बढाउनुपर्ने, भाषा तथा सिप परीक्षा उत्तीर्णहरूको फाइल पुनः रोजगारदातासम्म पठाउनुपर्ने तथा पारदर्शी ढंगले छनोट प्रक्रिया सञ्चालन गर्नुपर्ने माग राखेका छन् । माइतीघरमा भेला भएका युवाहरूले सरकार र श्रम मन्त्रालयविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
प्रदर्शनका क्रममा ‘सबै प्रक्रिया पूरा गर्दा पनि कोरिया किन जान पाइएन ?’ आश्वासन होइन, परिणाम चाहियो’, ‘पीडित युवालाई न्याय देऊ’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । केही प्रदर्शनकारीले श्रममन्त्रीको राजीनामासमेत माग गरेका थिए ।
प्रदर्शनमा सहभागी युवाहरूले आफूहरूले लाखौं खर्च गरेर भाषा र सिप परीक्षा उत्तीर्ण गरे पनि वर्षौंदेखि बेरोजगार बस्नु परेको बताएका छन् । उनीहरूका अनुसार कोरिया जाने आशामा अन्य वैकल्पिक रोजगारीसमेत त्याग्दा अहिले आर्थिक र मानसिक दबाब बढेको छ ।
ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेपछि रोजगारदाताको छनोट आवश्यक पर्ने व्यवस्था छ । तर, पछिल्लो समय ठूलो संख्याका युवाहरूले रोस्टरमा थन्किँदा अवसर गुमाउने जोखिम बढेको भन्दै सरकारलाई तत्काल समाधान खोज्न दबाब दिइरहेका छन् ।



















