
हुम्ला । हुम्ला र बाजुरा जिल्लाबीच लाम्पाटा–रानीसैन क्षेत्रको सीमा विवाद चर्किएपछि निर्माण हुन लागेको अस्थायी प्रहरी चौकीको काम तत्कालका लागि रोकिएको छ ।
सरकारले विवाद समाधानका लागि केन्द्रबाट अध्ययन समिति पठाउने तयारी गरिएको जनाएको छ । विवादित क्षेत्रलाई बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाले आआफ्नो भू–भाग दाबी गर्दै आएका छन् । हालै रानीसैन क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुन गएका धनगढीका मेयर गोपी हमालसहितको टोलीलाई हुम्लाका प्रदर्शनकारीहरूले अवरोध गरेका थिए ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार विवादको मुख्य कारण सीमा निर्धारणमा रहेको फरक बुझाइ हो । हुम्लाले एउटा खोलालाई सीमा मान्दै आएको छ भने बाजुराले २०५० सालको नापीलाई आधार बनाएको बताइएको छ । उक्त क्षेत्र जडीबुटी, पर्यटन र प्राकृतिक स्रोतका कारण महत्त्वपूर्ण मानिन्छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले विवादित स्थानमा बाजुराका नागरिकको लालपुर्जा रहेको दाबी गर्दै सीमा निर्धारणको विषय अध्ययन समितिले टुंग्याउने बताए । हाल त्यहाँ शान्ति सुरक्षाका लागि प्रहरीको गस्ती बढाइएको उनको भनाइ छ ।
दुवै स्थानीय तहका जनप्रतिनिधिले आआफ्ना नापी, नक्सा, पुराना कागजात र भोगचलनका आधारमा दाबी गरिरहेका छन् । हुम्ला पक्षले आफ्नो भूभागमा जबर्जस्ती प्रहरी चौकी बनाउन खोजिएको आरोप लगाएको छ भने बाजुरा पक्षले सुरक्षा चौकी स्थापना भएपछि जडीबुटी तथा वन्यजन्तु तस्करी नियन्त्रण हुने दाबी गरेको छ ।



















