
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई संसद्मा उपस्थित गराउनुपर्ने विपक्षी दलहरूको लगातार माग र नाराबाजीबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् ।
विपक्षीहरूले प्रधानमन्त्रीको अनुपस्थितिमा सदन चल्न नदिने अडान दोहोर्याइरहेका बेला सभामुखले भने कार्यसूची रोकेनन् । बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै अवरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री आउने विषयमा सरकार र सत्तापक्षसँग संवाद भइरहेको जानकारी गराएका थिए । उनले प्रधानमन्त्री छिट्टै संसद्मा उपस्थित हुने र मिति तय हुने विश्वास व्यक्त गरे पनि औपचारिक रुलिङ गर्न भने इन्कार गरे ।
सभामुखले सांसदहरू प्रधानमन्त्री उपस्थितिको मिति आफ्नै मुखबाट घोषणा होस् भन्ने अपेक्षामा रहेको आफूलाई थाहा भएको उल्लेख गर्दै प्रधानमन्त्री आउने प्रक्रिया ‘प्राकृतिक’ ढंगले अघि बढिरहेको बताए । उनले मिति तय हुनेबित्तिकै संसद्लाई जानकारी गराइने आश्वासन दिए ।
तर, विपक्षी दलहरू सभामुखको जवाफबाट सन्तुष्ट भएनन् । त्यसपछि पनि विरोध जारी रहेकै अवस्थामा सभामुखले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । अवरोधकै बीच विधेयकमाथिको छलफल अघि बढाइएको हो ।
यसक्रममा रास्वपा सांसद अशोक कुमार चौधरीले संसद्लाई विरोधको मात्र थलो बनाउन नहुने टिप्पणी गर्दै विपक्षी दलप्रति कटाक्ष समेत गरे ।
सभामुख अर्यालले प्रधानमन्त्री संसद्मा आएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने विपक्षीको मागलाई भने जायज ठहर गरेका छन् । उनले प्रधानमन्त्रीको उपस्थिति संविधान, नियमावली र जनभावनाअनुसार आवश्यक रहेको उल्लेख गर्दै सार्वभौम संसद्ले उठाएका प्रश्नको उत्तर सरकार प्रमुखले दिनुपर्ने बताएका छन् ।

























