मोरङ र सुनसरीमा हावाहुरीले पोल ढाल्दा विद्युत अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १५:५४

विराटनगर । तीव्र हावाहुरीका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ ।

विशेषगरी विराटनगर आसपासका क्षेत्र तथा मोरङ र सुनसरीका अधिकांश भागमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सोमबार रातिको हावाहुरीका कारण प्रसारण लाइनका पोल ढल्नुका साथै तारहरू चुँडिएपछि धेरै बस्ती, बजार र औद्योगिक क्षेत्रमा बिजुली आपूर्ति ठप्प भएको हो ।

Advertisement

नेपाल विद्युत प्राधिकरणका अनुसार मोरङको बेलबारी क्षेत्रमा सबैभन्दा ठूलो क्षति देखिएको छ । त्यहाँ हाइटेन्सन प्रसारण लाइनका २२ वटा पोल ढलेका छन् । जसका कारण त्यस क्षेत्र हुँदै जाने मुख्य विद्युत आपूर्ति प्रणाली नै प्रभावित भएको छ । प्राधिकरणको प्राविधिक टोलीले प्रारम्भिक निरीक्षणपछि पोलहरू ढल्दा मात्र नभई कतिपय स्थानमा तारसमेत चुँडिएको पुष्टि गरेको छ । जसले मर्मत कार्यलाई थप जटिल बनाएको छ ।

त्यसैगरी, सुनसरीको दुहबी क्षेत्रमा ३३ केभी प्रसारण लाइनमा समस्या देखिएको छ । उक्त लाइनमा आएको अवरोधका कारण दुहबीसँगै आसपासका धेरै बस्तीहरूमा विद्युत सेवा पूर्ण रूपमा बन्द भएको छ । प्राधिकरणले प्रारम्भिक विवरण संकलन गर्दै गर्दा दुहबी क्षेत्रका केही खण्डमा पोल झुकेको र केही ठाउँमा लाइन टुटेको पाइएको जनाएको छ ।

यसैबीच, ४०० केभी क्षमताको प्रसारण लाइनमा पनि क्षति पुगेको छ । प्राधिकरणका अनुसार उक्त उच्च क्षमताको लाइनका चारवटा पोलमा क्षति पुगेको छ । जसले राष्ट्रिय ग्रिड प्रणालीमै असर पार्ने सम्भावना देखिएको छ । यद्यपि, तत्कालका लागि वैकल्पिक लाइन व्यवस्थापनमार्फत केही क्षेत्रलाई आंशिक रूपमा विद्युत आपूर्ति गराउने प्रयास भइरहेको छ ।

प्राधिकरण कोशी प्रदेशका प्रमुख कमल आचार्यका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । उनले विद्युत सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । तर, पूर्ण रूपमा स्थायी समाधान गर्न भने केही दिन लाग्ने उनले स्पष्ट पारे ।

आचार्यका अनुसार हावाहुरीका कारण ढलेका पोलहरू पुनः जडान गर्नु मात्र नभएर चुँडिएका तारहरू परिवर्तन गर्नु र उच्च क्षमताका लाइनहरूलाई पुनः सन्तुलित बनाउनु पर्ने भएकाले मर्मत कार्य प्राविधिक रूपमा जटिल बनेको छ । ‘लाइन पूर्ण रूपमा सुचारु गर्न धेरै समय लाग्दैन भन्ने हाम्रो अनुमान छ । तर, भाँचिएका पोलहरू फेरि जडान गरेर पुरानो अवस्थामा ल्याउन दुई–चार दिन लाग्न सक्छ,’ उनले भने ।

उनले गर्मीका कारण बेलुकीको समयमा विद्युत माग उच्च हुने ‘पिक लोड’को अवस्था थप चुनौतीपूर्ण हुने बताए । वैकल्पिक व्यवस्था गरेर केही क्षेत्रमा आपूर्ति सुचारु गरिए पनि सबै स्थानमा समान रूपमा विद्युत उपलब्ध गराउन कठिनाइ हुने उनको भनाइ छ ।

हावाहुरीका कारण ग्रामीण तथा सहरी दुवै क्षेत्रमा दैनिक जीवन प्रभावित भएको छ । उद्योग, व्यापार, खानेपानी आपूर्ति प्रणाली, सञ्चार सेवा र घरायसी उपयोगका उपकरणहरू विद्युत अवरुद्ध हुँदा ठप्पजस्तै बनेका छन् । विशेषगरी बेलबारी, दुहवी तथा आसपासका क्षेत्रका बासिन्दा लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

स्थानीयका अनुसार रातिको तीव्र हावाहुरीले अचानक ठूलो आवाजसहित पोल ढालेपछि केही स्थानमा आगो झिल्कोसमेत देखिएको थियो । तर, तत्काल ठूलो दुर्घटना भने हुन पाएन । विद्युत आपूर्ति बन्द भएपछि सुरक्षाका दृष्टिले पनि केही स्थानमा सतर्कता अपनाइएको छ ।

प्राधिकरणका प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा खटिएका छन् । प्राथमिकताका आधारमा उच्च क्षमताका लाइनहरूलाई पहिल्यै सुचारु गर्ने तयारी भइरहेको छ । साथै, स्थानीय तहसँग समन्वय गरेर आवश्यक उपकरण तथा पोलहरूको व्यवस्था गर्ने काम पनि अघि बढाइएको छ ।

हालका लागि केही स्थानमा अस्थायी लाइनमार्फत आंशिक विद्युत आपूर्ति गरिने भए पनि पूर्ण रूपमा नियमित सेवा पुनः सञ्चालन हुन केही दिन लाग्ने प्राधिकरणले जनाएको छ । उपभोक्ताहरूलाई संयमित रहन र अनावश्यक विद्युत खपत कम गर्न आग्रह गरिएको छ।

यस घटनाले कोशी प्रदेशको विद्युत पूर्वाधार प्राकृतिक विपद्को जोखिममा छन् भन्ने देखाएको छ । हावाहुरीजस्ता मौसमी घटनाले उच्च भोल्टेज प्रसारण लाइनमा बारम्बार क्षति पुर्‍याउने भएकाले दीर्घकालीन रूपमा संरचना मजबुत बनाउने आवश्यकता रहेको सरोकारवाला बताउँछन् ।

तपाइको प्रतिक्रिया
उर्लाबारीको काँसघारीमा सडेको शव : महिलाको मृत्यु रहस्यमय, पति प्रहरीको नियन्त्रणमा
कोशी प्रदेशको आगामी बजेट : उत्पादन, रोजगारी र पर्यटन मुख्य प्राथमिकतामा
जगदीश खरेलको ‘तमासा’ टिप्पणीले संसद ततायो, नेकपाद्वारा रेकर्डबाट हटाउन माग
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा
मोरङ र सुनसरीमा हावाहुरीले पोल ढाल्दा विद्युत अवरुद्ध
नागरिकको जीवनस्तर उकास्न सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री
सरकारले बहुमतको दम्ब देखायाे : कांग्रेस
प्रधानमन्त्रीको प्रतीक्षामै संसद् चल्यो, अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची
एमालेभित्र ‘महासमीक्षा’को बहस, ऋषिकेशको ‘पुनरुत्थान’ प्रस्ताव
हावाहुरीले उडाएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा दुहबीमा युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.