
संखुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्जले आगामी जेठ २५ गतेदेखि एक महिनाका लागि यार्सागुम्बा संकलन खुला गर्ने भएको छ ।
निकुञ्ज कार्यालयका अनुसार असार २५ गतेसम्म अनुमति लिएका व्यक्ति तथा समूहले उच्च हिमाली क्षेत्रमा पुगेर यार्सा संकलन गर्न पाउनेछन् । निकुञ्जका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार निकुञ्जभित्र दुई प्रजातिका यार्सागुम्बा पाइने गरेको छ ।
संकलन अनुमति हेदाङनागढीस्थित निकुञ्ज कार्यालयसहित हटिया, सेदुवा, गोला, ताम्कु, बुङ र छेस्कामका सेक्टर तथा रेञ्जपोष्टमार्फत उपलब्ध गराइने व्यवस्था गरिएको छ । संकलकले अनुमति पुर्जी, प्राथमिक उपचार सामग्री, औषधि, खाना पकाउने ग्यास वा स्टोभ र बसोबासका लागि त्रिपाल लैजान पाउनेछन् । तर, विष्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउडस्पिकर र ड्रमसेटजस्ता सामग्री लैजान पूर्ण प्रतिबन्ध लगाइएको निकुञ्जले जनाएको छ ।
मकालु गाउँपालिका, भोटखोला गाउँपालिका, सिलिचोङ गाउँपालिका तथा महाकुलुङ गाउँपालिका आसपासका उच्च हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा स्थानीयको प्रमुख आम्दानीको स्रोत मानिन्छ । स्थानीयले यार्सा बिक्रीबाट प्राप्त रकम घरखर्च, शिक्षा तथा दैनिक जीवन धान्न प्रयोग गर्दै आएका छन् ।
निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयका लागि पाँच सय रुपैयाँ, संखुवासभा र सोलुखुम्बुका बासिन्दाका लागि दुई हजार रुपैयाँ तथा जिल्ला बाहिरबाट आउनेका लागि तीन हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको छ । निकुञ्ज प्रशासनका अनुसार यार्सागुम्बाबाट हरेक वर्ष ५० लाख रुपैयाँभन्दा बढी राजस्व उठ्ने गरेको छ ।
बजारमा गुणस्तरअनुसार यार्सागुम्बाको मूल्य फरक पर्ने भए पनि यहाँ संकलित यार्सा प्रतिकिलो पाँच लाख ५० हजारदेखि सात लाख ५० हजार रुपैयाँसम्ममा कारोबार हुने गरेको व्यापारी बताउँछन् । संकलित यार्सा मुख्य रूपमा काठमाडौं र चीनको तिब्बततर्फ निर्यात हुने गरेको छ ।

























