
काठमाडौं । लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने उपराष्ट्रपति रामसहायप्रसाद यादवले बताएका छन् । उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने बताएका हुन् ।
गणतन्त्र दिवस, २०८३ का अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले भनेका छन्, ‘संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्दै अघि बढ्न सकेमात्र हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्छ ।’
‘गणतन्त्र जनताको शासन प्रणाली हो, जहाँ सम्पूर्ण शक्ति जनतामा निहित हुन्छ, जनताद्वारा निर्वाचित जनप्रतिनिधिले जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो ।’उनले भनेका छन्,‘नेपालको गौरवशाली परम्परा, सांस्कृतिक विविधता, राष्ट्रिय उपलब्धि र प्रगतिलाई उजागर गर्ने अवसरका रूपमा गणतन्त्र दिवसलाई मनाउन सकियोस् । लोकतन्त्र, सङ्घीयता, समावेशिता र संविधानका महान् उपलब्धिहरूको रक्षा गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सबल बनाउन यो दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस्, गणतन्त्र दिवसका अवसरमा पुन: हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु ।’

























