
इटहरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा पिकअप गाडीको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ८४२१ नम्बरको पिकअप गाडीले रामधुनी–२ का मोहमद अख्तरकी छोरी ९ वर्षीया फर्चिना खातुनलाई बिहीबार दिउँसो ३ बजेतिर ठक्कर दिएको थियो । प्रहरीका अनुसार पिकअपको ठक्करबाट पैदलयात्री बालिका गम्भीर घाइते भएकी थिइन् ।
झुम्का अस्पतालमा प्रारम्भिक उपचारपछि बालिकालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारकै क्रममा ४ः१५ बजेतिर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले पिकअप र चालक धनुषा घर भएका २७ वर्षीय रोहित पासवानलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । बालिकाले अचानक बाटो काट्न खोज्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























