
विराटनगर । काेशी प्रदेशसभामा सरकारले सिद्धान्त र प्राथमिकता पेश भएको छ । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारितको प्रक्रियालाई लिएर सुरु भएको अवरोध अन्त्य भएपछि सिद्धान्त र प्राथमिकता पेश भएको हाे ।
गत जेठ १२ गते सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रमाथि संशोधनको समय नै नदिई सर्वसम्मतीका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए । संशोधनको समय नदिएको भन्दै प्रतिपक्षी दल नेकपाले संसद अवरुद्ध गरेको थियो । जेठ १३ गते अवरोधका क्रममा पूर्वमुख्यमन्त्री राजेन्द्र राई जवरजस्ती रोष्ट्रम पुगेर माइक फाल्न खोजेका थिए । त्यसपछि बैठक आजसम्मका लागि स्थगीत भएको थियो ।
प्रदेशसभाको बैठक बस्नु अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबिच नीति तथा कार्यक्रम प्रदेशसभाले सर्वसम्मत पारित भएको भन्ने सभामुखको घोषणा सच्याउने र सहमति सभामुखले प्रदेशसभाको बैठकमा वाचन गर्ने सहमति भएको थियो । सहमतिको विषय सभामुख अम्बरबहादुर विष्टले सभामा जानकारी गराएका थिए । त्यसपछि प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङथेपले बजेटका प्राथमिकता र सिद्धान्त पेस गरे ।
स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्य राखिएको प्राथमिकतामा पर्यटन प्रवर्द्धनका लागि २०८३ साउनदेखि २०८५ असारसम्मलाई कोशी भ्रमण वर्षको रूपमा मनाइने र पर्यटकीय पदमार्गहरूको विकास गरिने उल्लेख छ ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई डिजिटल बनाइने र आयोजनाहरूको अनुगमनमा कडाइ गर्ने, कृषिको आधुनिकीकरण र स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा निजी क्षेत्रलाई प्रोत्साहनलाई प्राथमिकतामा राखिएको छ ।
रणनीतिक सडकहरूको निर्माणलाई तीव्रता दिइने, स्वच्छ खानेपानी पुर्याइने र प्रादेशिक अस्पतालहरूलाई प्रविधिमैत्री एवं विशेषज्ञसहितको बनाइने योजना बनाएको सरकारले करको दबाबलाई चिर्न करको दायरा विस्तार गर्ने र युवाहरूलाई स्वदेशमै रोजगारी दिने कार्यक्रम बजेटमा राखिएको छ ।



















