विराटनगरको  ‘हिमालयन रोड किताब मेला’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार ०६:२४
विराटनगरको  ‘हिमालयन रोड किताब मेला’ सुरु

विराटनगर । विराटनगरको ऐतिहासिक, प्राज्ञिक तथा सांस्कृतिक गरिमालाई पुनर्जागृत गर्ने उद्देश्यका साथ आज (आइतबार) सहरको मुख्य सडक हिमालयन रोडमा  ‘हिमालयन रोड किताब मेला २०८३’ सुरु हुँदैछ ।

दिगो विकास इन्स्टिच्युट, ग्रिन सिटी भोलेन्टियर र नर्थ साउथ कलेक्टिभ्सको संयुक्त आयोजनामा सञ्चालित यो एक दिने मेलाले विराटनगरलाई साहित्यिक र बौद्धिक बहसको केन्द्र बनाएको छ।

Advertisement

मेलाको मुख्य उद्देश्य हराउँदै गएको पठन संस्कृतिलाई प्रोत्साहन गर्नु र लेखक तथा पाठकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नु रहेको छ । आयोजक संस्था दिगो विकास इन्स्टिच्युटका अभिषेक श्रेष्ठका अनुसार आधुनिक प्रविधिको युगमा पुस्तकप्रतिको मोह जगाउन र बौद्धिक समुदायलाई एउटै थलोमा ल्याउन यो मेला आयोजना गरिएको हो ।

नर्थ साउथ कलेक्टिभ्सकी नितु सेनले मेलाले समाजमा ज्ञानको पहुँचलाई सहज बनाउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘यस मेलाले नयाँ पुस्तामा अध्ययनप्रति रुचि मात्र जगाउँदैन, बरु रचनात्मक चिन्तन र बौद्धिक विमर्शको वातावरण समेत सिर्जना गर्नेछ।’

मेलामा नेपाली, अंग्रेजी लगायत विभिन्न भाषाका पुस्तकहरू प्रदर्शनमा राखिएका छन् । पाठकहरूको सहजताका लागि  ‘साहित्य कुना’ को व्यवस्था गरिएको छ, जहाँ पुस्तक प्रेमीहरूले शान्त र साहित्यिक वातावरणमा बसेर आफ्नो मन पर्ने पुस्तक पढ्न सक्नेछन् । ग्रिन सिटीकी कीर्ति मण्डलका अनुसार पाठकलाई पुस्तकसँगै समय बिताउने विशेष अवसर प्रदान गर्न यो व्यवस्था गरिएको हो ।

मेलाको मुख्य आकर्षणको रूपमा विभिन्न विमर्श कार्यक्रमहरू रहेका छन् । ‘विराटनगरमा साहित्य: विगतदेखि वर्तमानसम्म’ विषयक छलफलमा साहित्यकारहरू खेमराज नेपाली, निर्मला कोइराला र कर्ण सञ्जयले आफ्नो धारणा राख्नेछन्।

त्यसै गरी, नेपाली वाङमय र विराटनगरको सम्बन्धबारे चर्चित कवि मनु मन्जिल, दिनेश श्रेष्ठ र सगुना साहले विशेष विमर्श गर्ने कार्यक्रम छ ।

पुस्तक मेला केवल पठनमा मात्र सीमित नभई कला र संस्कृतिको संगम समेत बनेको छ। दिनभर सञ्चालन हुने यस मेलामा कविता वाचन, सांस्कृतिक कार्यक्रम, नृत्य र कलाका विविध स्वरूपहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

विराटनगरको सार्वजनिक स्थललाई बौद्धिक अभ्यासका लागि प्रयोग गर्ने यो नवीन प्रयासले सहरको पहिचानलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.