
गाईघाट । उदयपुरमो कटारीमा आइतबार राति टिपर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी नगरपालिका–६ गाल्टारमा राति ११ः५० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जरुवाबाट गाईघाटतर्फ जाँदै गरेको म प्र ०३–००१ क ३६११ नम्बरको टिपर सडकको बीचमा रहेको ड्रम्पमा ठोक्किएर दुर्घटनामा परेको थियो । टिपर सडकबाट करिब ८० मिटर तल खस्दा टिपर चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–७ का ३८ वर्षीय कूलराज राउत, टिपरमा सवार उदयपुरगढी–२ का २० वर्षीय सन्देश गिरी र २२ वर्षीय विवेक गिरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कटारी अस्पतालमा सम्भव नभएपछि घाइतेहरुलाई थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको छ । दुर्घटनामा परेर सामान्य घाइते भएका उदयपुरको ताप्ली गाउँपालिका–५ रुपाटारका २२ वर्षीय टीकाजन खत्री उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
सडकबाट खसेको टिपरले स्थानीय विष्णुलाल गिरीको टाली लगाएर बनाइएको काठको दुईतले गाईगोठमा पनि क्षति पुर्याएको छ । टिपरमा समेत क्षति पुगेको र पशु चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।
टिपरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



















