
काठमाडौं । नेपाल–भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलले निरन्तर विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक फेरि अवरुद्ध भएको छ ।
सोमबार बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसद्जस्तो संवेदनशील र कानुन निर्माण गर्ने थलोमा संयमित भूमिका खेल्न दलहरूलाई आग्रह गरे ।
सदनको अवरोध जारी रहेपछि सभामुख अर्यालले सोमबारका लागि तय भएका सबै कार्यसूची हटाइएको घोषणा गरेका हुन् । त्यसलगत्तै उनले संसद बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरिएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् ।
प्रधानमन्त्रीको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलले निरन्तर आपत्ति जनाउँदै आएका छन् । त्यसकै असर संसद् सञ्चालनमा परेको छ ।



















