
दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जिप दैलेखमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
दैलेखको भैरबी गाउँपालिका–७ कालगौंडीमा सुप ०१–००१ च ४९६४ नम्बरको जिप सोमबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–५ का ३५ वर्षीय चालक कलबहादुर रोकाय, सोही स्थानका ३९ वर्षीय मित्र सुनार र शुभकालिका–६ की ६० वर्षीया पुल्तिसरा विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दैलेखका डीएसपी श्रवणकुमार विकका अनुसार मृतक तीन जनाको शव जिल्ला अस्पताल दैलेखमा राखिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका शुभकालिका–४ की ४५ वर्षीया नैन सुनार र वडा नम्बर–६ का २७ वर्षीय सुमत विकलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । अन्य तीन जना घाइतेको जिल्ला अस्पताल दैलेखमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डीएसपी विकले बताए ।



















