
झापा । झापाको शिवसताक्षी नगरपालिका–४ फूलचोकस्थित झापा इनर्जी लिमिटेडद्वारा सञ्चालित १० मेगावाट क्षमताको सोलार पावर प्रोजेक्टमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।
आगलागीका कारण प्लान्टको एउटा प्रमुख इन्भर्टर पूर्णरूपमा जलेर ध्वस्त भएपछि आधा क्षमता बराबरको ५ मेगावाट विद्युत उत्पादन तत्कालका लागि बन्द भएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो २ः१० बजेतिर आगलागी सुरु भएको हो । सोलार पावर उत्पादन भइरहेका बेला प्लान्टभित्र रहेको प्राविधिक उपकरणतर्फ अचानक आगो लागेको प्रहरीको भनाइ छ ।
सोलार प्रणाली अत्यधिक तातेर इन्भर्टरमा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाका अनुसार आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट इन्स्पेक्टर शुभाष केसी नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालयबाट असई बेनु बास्कोटासहितको अर्को टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरी, स्थानीय, प्राविधिक कर्मचारी र दमकलको सहयोगमा आगो करिब एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको इन्स्पेक्टर बानियाले बताए । आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीमा मानवीय तथा चौपाया क्षति भने भएको छैन ।
झापा इनर्जी लिमिटेडले सञ्चालन गर्दै आएको सोलार पावर प्रोजेक्ट १० मेगावाट क्षमताको हो । यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्रोजेक्टले २२ बिघा क्षेत्रफलमा सोलार प्यानल स्थापना गरी विद्युत उत्पादन गर्दै आएको थियो । २०८० साल माघदेखि सञ्चालनमा आएको यस परियोजनाले विद्युत आपूर्तिमा योगदान पुर्याउँदै आएको थियो ।
प्रोजेक्टका अध्यक्ष एवं पूर्वसांसद लालप्रसाद साँवा (एलपी)का अनुसार प्लान्टमा दुईवटा ५–५ मेगावाट क्षमताका इन्भर्टर जडान गरिएको थियो । त्योमध्ये एउटा इन्भर्टर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अर्को सुरक्षित रहेको उनले बताए । ‘एउटा इन्भर्टर क्षतिग्रस्त हुँदा उत्पादन क्षमताको आधा हिस्सा प्रभावित भएको हो,’ उनले भने, ‘जसका कारण तत्काललाई ५ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ ।’
साँवाका अनुसार प्लान्टमा यसअघि पनि कहिलेकाहीँ सामान्य प्रकारका आगलागी वा प्राविधिक समस्या देखिने गरेको थियो । तर, यसपटकको घटनाबाट तुलनात्मक रूपमा धेरै क्षति भएको छ । उनले आगलागीको कारण प्राविधिक रूपमा यकिन गर्न अझै बाँकी रहेको भन्दै सम्बन्धित इन्भर्टर सप्लायर्स र बीमा कम्पनीसँग समन्वय भइरहेको जानकारी दिए । सप्लायर्सले प्राविधिक टोली पठाएर विस्तृत अध्ययन गरेपछि मात्र वास्तविक कारण स्पष्ट हुने साँवाको भनाइ छ ।
उनले क्षतिग्रस्त इन्भर्टर हटाएर नयाँ इन्भर्टर जडानको प्रक्रिया अघि बढाइने र आवश्यक मर्मतपछि पुनः पूर्ण क्षमतामा १० मेगावाट नै विद्युत उत्पादन सुचारु गरिने बताए । ‘हाल उत्पादन आधा क्षमतामा सीमित भएको छ । राष्ट्रिय प्रसारण लाइनमा जाने आपूर्तिमा पनि सोही अनुपातमा कमी आएको छ,’ उनले भने ।
इन्स्पेक्टर बानियाले भने आगलागीको कारण पत्ता लगाउन प्राविधिक त्रुटि, अत्यधिक तापक्रम वा उपकरणमा भएको आन्तरिक समस्याजस्ता पक्षहरूलाई प्राथमिकतामा राखेर अनुसन्धान भइरहेको छ । प्लान्ट भएको क्षेत्रलाई सुरक्षा घेरामा राखिएको र थप क्षति हुन नदिन सतर्कता अपनाइएको उनको भनाइ छ ।
यो घटनाले वैकल्पिक ऊर्जा संरचनामा देखिने प्राविधिक जोखिम र सुरक्षा व्यवस्थापनको विषयमा ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ । ठूलो लगानीमा सञ्चालन भइरहेका यस्ता परियोजनामा उपकरणको नियमित मर्मत, ताप नियन्त्रण प्रणाली र आपतकालीन सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनुपर्ने प्राविधिकहरु बताउँछन् ।



















