
विराटनगर । विराटनगर–जोगवनी सिमावर्ती क्षेत्रमा तस्करीलगायतका अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल मोरङले कडा कदम चालेको छ ।
सीमानाकाको १ नम्बर ढाट आसपासका क्षेत्रमा पर्ने नेपालतर्फको पर्खालमा काँडे तार लगाएर घेराबारा गरिएको हो । विभिन्न स्थानका प्वालहरू समेत बन्द गरिएको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्र भण्डारीका अनुसार सरसामानको अवैध तस्करी बढ्दै गएको भनेर स्थानीयस्तरबाट लगातार गुनासो आएपछि सिमानामा नेपालतर्फको पर्खालमा काँडेतार लगाइएको हो । १ नम्बर ढाटस्थित स्वास्थ्य डेस्क रहेको स्थान पछाडि नेपालतर्फको सीमित क्षेत्रमा आइतबार काँडे तारसहितको घेराबारा गरिएको जानकारी उनले दिए ।
एसपी भण्डारीका अनुसार जोगवनी नाका हुँदै दरैयाबस्ती तथा अन्य खुला सीमावर्ती क्षेत्रबाट तस्करहरूले पोका बनाएर सामान ओसारपसार गर्ने, पर्खाल चढ्ने र वारपार गर्ने गतिविधि बढ्दै गएको थियो । यस्ता गतिविधि नियन्त्रण गर्न सीमामा निगरानी बढाइएको उनले बताए ।
सशस्त्रले सोमबार करिब ५ लाख ४८ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । बरामद भएका तस्करीका सामानहरूमा मुख्यतः कस्मेटिक सामग्री, लत्ताकपडा तथा खाद्यान्न रहेको भण्डारीको भनाइ छ । नियन्त्रणमा लिइएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
एसपी भण्डारीका अनुसार सीमामा भइरहेको अवैध ओसारपसार रोक्नका लागि मात्र नभई प्रणालीगत रूपमा नियन्त्रण सुदृढ गर्न पनि संरचनागत सुधार गरिएको हो । सोही क्रममा विराटनगरतर्फको सीमामा रहेका विभिन्न पर्खाल तथा नजिकका घरहरुमा रहेका ३७ वटा प्वालहरू समेत बन्द गरिएको उनले बताए ।
उनले सीमावर्ती क्षेत्रमा तस्करीलाई निरुत्साहित गर्न नियमित गस्ती गर्दै निगरानी बढाइएको बताए । खुला सीमा क्षेत्रका कारण तस्करी सहज हुने गरेको गुनासो बढेपछि सुरक्षा निकाय सक्रिय बनेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले तस्करी, विभिन्न अपराध एवं अवैध गतिविधि नियन्त्रण गर्न सबै पक्षसँग समन्वय गरेर नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको बताए । ‘नेपाल–भारत सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तस्करीलगायतका अवैध गतिविधि रोक्न कुनै कसर बाँकी राखिने छैन,’ एसपी कटवालले भने ।

























