
विराटनगर । विराटनगरको सिंघिया खोलामा डुबेर सोमबार साँझ एक जना बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१ नयाँ बस्तीस्थित सिंघिया खोलामा घटना भएको हो । पौडी खेल्ने क्रममा बालक डुबेका थिए । स्थानीयले उद्धार गरेर बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।
प्रहरीका अनुसार अन्दाजी १० वर्षजस्तो देखिने मृतक बालकको पहिचान खुल्न सकेको छैन । प्रहरीले मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान गरिरहेको छ । घटनास्थलमा पुगेर जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको हो ।

























