
काठमाडौं । विपक्षी दलहरूको निरन्तर नाराबाजी र वेलमै उभिएर गरिएको विरोध नरोकिने भएपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
संसद् बैठकलाई सहज रूपमा अघि बढाउने प्रयासहरू असफल भएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक २५ गते बस्ने गरी स्थगितको घोषणा गरेका हुन् । मंगलबार बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका भए पनि करिब दुई घण्टा ढिलो गरी ३ बजे मात्र सुरु भएको थियो ।
समयमै सुरु हुन नसकेको बैठक सुरु हुनेबित्तिकै पनि विपक्षी दलका सांसदहरू आआफ्नो स्थानबाट उठेर वेलमा पुग्दै नाराबाजीमा उत्रिएका थिए । उनीहरूले निरन्तर विरोध जारी राखेपछि बैठकको वातावरण तनावपूर्ण बनेको थियो ।
सभामुख अर्यालले बैठकलाई सामान्य प्रक्रियामा अघि बढाउने प्रयासस्वरूप विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्ने अवसर दिएका थिए । उनीहरूले आफ्नो धारणा राखे पनि विपक्षी दलहरूको समग्र अडान भने परिवर्तन भएन र उनीहरू वेलमै उभिएर नाराबाजी जारी राखिरहे ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे सार्वजनिक रूपमा दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । प्रधानमन्त्रीले आधार र प्रमाणबिना संवेदनशील विषयमा दिएको अभिव्यक्तिको स्पष्टता आवश्यक रहेको अडान विपक्षीको छ । यदि त्यस्तो अभिव्यक्ति बिना तथ्य दिइएको हो भने सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनीहरूको माग छ ।
मंगलबार पनि विपक्षी दलहरूले सोही मागलाई दोहोर्याएका थिए । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएसम्म संसद् नियमित रूपमा सञ्चालन हुन नदिने अडान कायम राखेका छन् । सोही अडानका कारण संसद् बैठक अघि बढाउन कठिनाइ भएको थियो ।
यसैबीच, सभामुख अर्यालले कार्यसूचीअनुसार बैठक अघि बढाउने प्रयास गरेका थिए । बैठकको कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका महत्वपूर्ण कार्यहरू समावेश थिए । तर, विपक्षी दलहरूको निरन्तर अवरोधका कारण कार्यसूची अघि बढ्न सकेनन् ।
सभामुखले पटकपटक संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षी दलहरूले आफ्नो विरोध जारी राखेपछि अन्ततः बैठकलाई स्थगित गर्ने निर्णय गरिएको हो । लामो समयसम्म चल्न नसकेको बैठक अन्ततः २५ गतेसम्मका लागि स्थगित भएको घोषणा गर्दै सभामुखले संसद् हल खाली गराएका थिए ।
संसद् बैठक ढिलो सुरु हुनु, सुरु भएपछि पनि तत्काल अवरोध हुनु र कार्यसूची अघि बढ्न नसक्नुले प्रतिनिधिसभा फेरि एकपटक राजनीतिक तनावको केन्द्र बनेको देखिएको छ । विपक्षी र सत्ता पक्षबीचको आरोप प्रत्यारोप तथा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर देखिएको विवाद समाधान नहुँदा संसद् बारम्बार अवरुद्ध हुँदै आएको छ ।
यसअघि पनि यस्तै विवादका कारण संसद् बैठक नियमित रूपमा सञ्चालन हुन नसकेको अवस्था पुनः दोहोरिएको हो । संसद् अवरुद्ध हुँदा महत्वपूर्ण विधेयक तथा औपचारिक कार्यसूचीहरू समेत प्रभावित भइरहेका छन् । जसले विधायन प्रक्रियामा असर परेको देखिन्छ ।
अहिलेको अवस्थामा विपक्षी दलहरू आफ्नो मागमा अडिग देखिन्छन् । सत्ता पक्षले संसद् सञ्चालनमा अवरोध नगर्न आग्रह गर्दै आएको छ । तर, दुवै पक्षबीच सहमति नजुट्दा संसद् फेरि निष्क्रिय बनेको छ ।

























