
विराटनगर । नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको संयुक्त आयोजनामा ‘सम्पत्ति शुद्धीकरण, आतंकवादी कार्य र आमविनाशका हातहतियार निर्माणमा वित्तीय लगानी’ सम्बन्धी अपराध अनुसन्धान तालिम विराटनगरमा सुरु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित तालिमकाे नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै गभर्नर पौडेलले मुलुकको आर्थिक स्थायित्व र सुशासनका लागि वित्तीय अपराध नियन्त्रण अपरिहार्य रहेको बताए । उनले अपराधका नयाँ प्रवृत्ति र चुनौतीलाई सामना गर्न सम्बन्धित निकायबिच समन्वय र दक्ष जनशक्तिको खाँचो रहेको बताए ।
कार्यक्रमका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वित्तीय अपराधको स्वरूप जटिल बन्दै गएको भन्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान र अन्तर-निकाय समन्वय महत्त्वपूर्ण हुने बताए । ‘यो तालिमले प्रहरी अधिकृतहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान बढाउँदै अनुसन्धानलाई थप प्रभावकारी बनाउनेछ,” उनले भने । ५ दिनसम्म चल्ने उक्त तालिममा कोशी प्रदेशका विभिन्न जिल्ला र मुद्दा चल्ने प्रहरी इकाइका २४ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ । तालिममा सहभागीहरूलाई सम्पत्ति शुद्धीकरण, जोखिम पहिचान र कानुनी व्यवस्थाका विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन् ।

























