देशका ५ प्रदेशमा वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार ०६:३१
सांकेतिक तस्बिर

काठमाडौं । पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण आज (बुधबार) देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ । महाशाखाले लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ ।

Advertisement

बुधबार दिउँसो देशभरको पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति भने देशको हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । रातिको समयमा कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.