
एजेन्सी । अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानतर्फ जाँदै गरेको एउटा खाली तेल ट्यांकरमाथि क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
अमेरिकी केन्द्रीय कमाण्ड ‘सेन्टकम)का अनुसार बोत्सवानाको झण्डा बोकेको ‘एमरटी लेक्सी’ नामक जहाजले पटकपटक दिइएको चेतावनी बेवास्ता गरेपछि कारबाही गरिएको हो । सेन्टकमले मंगलबार सार्वजनिक गरेको भिडियोमा अमेरिकी सैन्य विमानले ट्यांकरको इन्जिन कक्षमा प्रहार गरेको दृश्य देखाइएको छ । अमेरिकी पक्षका अनुसार उक्त जहाज अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानको खार्ग टापुतर्फ अघि बढिरहेको थियो ।
अमेरिकी सेनाले जहाजलाई २४ घण्टासम्म मार्ग परिवर्तन गर्न र निरीक्षणका लागि रोक्न निर्देशन दिएको दाबी गरेको छ । तर, चालक दलले निर्देशन नमान्दा अन्ततः हमला गरिएको सेन्टकमको भनाइ छ । घटनापछि जहाज र चालक दलको अवस्थाका बारेमा कुनै विवरण सार्वजनिक गरिएको छैन ।
इरानले यस घटनाबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । तर, पछिल्ला महिनायता अमेरिका र इरानबीच समुद्री मार्गको नियन्त्रण र तेल ढुवानीलाई लिएर तनाव बढ्दै गएको छ ।
अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने जहाजमाथि कडा निगरानी र नाकाबन्दी लागू गर्दै आएको छ । सेन्टकमका अनुसार हालसम्म ६ वटा व्यावसायिक जहाजलाई सञ्चालनविहीन बनाइएको छ भने १२२ जहाजले आफ्नो गन्तव्य परिवर्तन गरेका छन् ।



















